म्याग्दी। मुस्ताङको लोमान्थाङ गाउँपालिकाको छोसेरमा ‘एक घर एक धारा’सहितको खानेपानी आयोजना सम्पन्न भएको छ । खानेपानी, जलस्रोत तथा सिँचाइ विकास सबडिभिजन कार्यालय मुस्ताङले उपभोक्ता समितिमार्फत श्रमदानसहित करिब रु एक करोड ५० लाखको लगानीमा छोसेर खानेपानी योजना सम्पन्न भएको हो।
एक सय ८६ घरधुरीमा मिटरसहितको निजी धारा जडान गरेर खानेपानी वितरण भएको छ छ । बाह्र वर्षअघि निर्माण गरेको योजना जीर्ण हुँदा साविक छोसेर गाउँमा खानेपानीको निकै समस्या थियो । सात वर्ष लगाएर योजना सम्पन्न भएपछि घर–घरमा शुद्ध खानेपानीको सुविधा पुगेको छ ।
कोरलानाका नजिकै रहेको च्याउङछु भन्ने स्थानमा रहेको मूलबाट करिब १५ किलोमिटर लामो पाइप लाइनबाट छोसेरमा खानेपानी ल्याइएको हो । तीस हजार लिटरको एक र २० हजार लिटर क्षमताका दुईवटा ट्याङ्की निर्माण भएको छ ।
समुद्री सतहबाट चार हजार पाँच सय मिटर उचाइको भौगोलिकरूपमा विकट र दुर्गम क्षेत्रको मुहानबाट पानी ल्याइएको छ । एक सय ८० घरधुरीमा निजी धारा र २० वटा सामुदायिक धारा निर्माण गरिएको छ।