पोखरा। पोखरा महानगरपालिकाका दुई वडाले संयुक्तरूपमा बिरामीका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएका छन् ।
पोखरा महानगरपालिका–१६ र १९ ले वडावासीका लागि एम्बुलेन्स सेवा प्रदान गर्न एम्बुलेन्स सेवा प्रदायक संस्था नव आदर्श सामुदायिक विकास समाज तथा मातृशिशु मितेरी अस्पतालसँग सम्झौता गरेका छन् ।
महानगरपालिकाका प्रमुख धनराज आचार्यको उपस्थितिमा पोखरा–१६ का वडाध्यक्ष अमृत शर्मा तिमिल्सिना र वडा नं १९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले सेवा प्रदान गर्ने सम्बन्धमा समाजका अध्यक्ष स्वागतसिंह भण्डारी र मितेरी अस्पतालका स्वास्थ्य सेवा प्रमुख धर्मदेव ढकालसँग एम्बुलेन्स सेवा प्रदान गर्ने सम्बन्धमा हस्ताक्षर गरेका हुन्।
स्थानीयवासीका लागि प्रयोग गरिएको एम्बुलेन्सको भाडामा वडा कार्यालयबाट भुक्तानी हुने गरी सहमति गरिएको छ । दुवै वडाका नागरिकले यी दुई संस्थाबाट सञ्चालित एम्बुलेन्स तथा शवबाहनबाट कास्की जिल्लाभित्र प्रयोग हुने गरी चौबीसै घण्टा सेवा लिन सक्ने बताइएको छ।
एम्बुलेन्स प्रयोगकर्ताले परिचयका लागि आफ्नो परिचय खुल्ने कुनै पनि प्रकारको परिचयपत्र उपलब्ध गराउनु पर्नेछ।