काठमाडौं। आजदेखि काठमाडौंको रत्नपार्कदेखि भक्तपुरको सूर्यविनायकसम्म द्रुत बस सेवा सञ्चालनमा आउने भएको छ। आज बिहान ९ बजे भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले यस्तो बसको उद्घाटन गर्नेछन्।
त्यसपछि मन्त्री ज्वाला, मन्त्रालय तथा विभागका अन्य अधिकारीहरू, स्थानीय सरकारका पदाधिकारीलगायत व्यक्तिहरू रत्नपार्कबाट सूर्यविनायकसम्म पुग्नेछन्। संविधान दिवसको दिन उद्घाटन गर्ने गरी सडक विभागले रातो रङ पोतेर छुट्टै लेन बनाएको छ।
आज उद्घाटन हुने र भोलिबाट २५ वटा बसहरू द्रुत सेवाअन्तर्गत सूर्यविनायकदेखि रत्नपार्कसम्म नियमित सञ्चालनमा आउने यातायात व्यवस्था विभागले जनाएको छ।