चितवन। खैरहनी नगरपालिकाले यस आर्थिक वर्षभित्र सम्पूर्ण नगरवासीलाई स्वच्छ खानेपानी पुर्याउने भएको छ । खैरहनी नगरपालिकाका प्रमुख शशि खनियाँले यसै आर्थिक वर्षभित्र साबिकको कठार गाविस अर्थात हातको खैरहनी नगरपालिका १० र ११ वडाका सबै घरधुरीमा स्वच्छ खानेपानी पुग्ने बताएका हुन्।
हाल पूर्ण रुपमा खानेपानीको पहुँच नपुगेको कठारमा खानेपानी पुर्याएसँगै सबै नगरवासीका लागि स्वच्छ खानेपानी पुग्नेछ । त्यहाँ रहेका दुई हजार पाँच सय घरधुरीमध्ये पाँच सय परिवारले मात्र स्वच्छ खानेपानी उपभोग गर्दै आएका छन् ।
जीवनपुर खानेपानी आयोजनामार्फत त्यहाँ पानी वितरण हुँदै आएको छ । सो क्षेत्रमा खानेपानी पुर्याउन बागमती प्रदेश सरकारसँग सहकार्य गरेर नगरपालिकाले आयोजना अघि बढाउँदैछ । अन्य क्षेत्रमा खानेपानीको पहुँच अधिकांश भागमा पुगेको छ । कुनै ठाउँमा छिटपुट नपुगेको भए त्यहाँसमेत खानेपानी पु¥याएर पूरै नगरलाई स्वच्छ खानेपानीको पहुँच पुर्याउने उनले बताए । नगरपालिका–१ ज्यामिरेमा केही भागमा खानेपानी पुग्न बाँकी रहेको छ । खानेपानीको पाइप नपुगेका उपशाखाहरुमा खानेपानी उपभोक्ता समितिसँग सहकार्य गरेर पाइपलाइन विस्तार गरी पानी पुर्याइँदै छ ।
कतिपय घरहरुमा मानिस नभएकाले खानेपानी जोड्न बाँकी रहेको छ । नगरभित्र अहिले ८० प्रतिशत घरमा स्वच्छ खानेपानी पुगेको उनले जानकारी दिए।