सोलुखुम्बु। जिल्लाको थुलुङ दूधकोशी गाउँपालिका–५ जुबुको पानीडाँडामा नै पानीको समस्या छ। सुकेपोखरी व्यवस्थापनपछि खानेपानीको मुहान सुकेर पानीडाँडा क्षेत्रमा पानीको समस्या परेको हो।
पानीको मुहान भनेर चिनिने यस क्षेत्रमा विगत दुई वर्षयता खानेपानी आपूर्ति ठप्प हुँदा पानीडाँडा र खिप्लीका १६ घर परिवार समस्यामा परेका छन्।
गाउँमा खानेपानी अभाव भएपछि करिब दुई किलोमिटरको दूरीमा रहेको जंगलको कुवाबाट पानी बोकेर खान बाध्य भएको स्थानीय बताउँछन्। गाउँघर युवाविहीन हुँदा पानीडाँडा क्षेत्रमा पनि वृद्धवृद्धा मात्रै रहेका छन् । पानीको समस्याका कारण खेतीपातीदेखि पशुपालनका लागि समेत अत्यन्तै असहज भएको स्थानीयको गुनासो छ।
स्थानीयले हाल करिब तीन किलोमिटरको दूरीमा रहेको इतल्कु खोलाको पानी वस्तुभाउका लागि प्रयोग गर्दै आएका छन् । सुकेपोखरी व्यवस्थापनको क्रममा पानी पोखरीमा लैजानुपर्दा पानीडाँडा क्षेत्रमा पानी अभाव भएको हो। समस्या समाधानका लागि पालिकास्तरीय खानेपानी बोर्डले वर्षात् सकिएलगत्तै काम अघि बढाउने गाउँपालिकाले जनाएको छ।