पर्वत। पर्वतको कुश्मा नगरपालिका ७ र ८ को सिमानामा रहेको तमादी खोलामा आएको बाढीले पोखरा–बागलुङ सडकमा गुडिरहेको जीप बगाउँदा तीन यात्रु बेपत्ता भएका छन्।
बागलुङबाट पोखरातर्फ जाँदै गरेको ग१ज ६२१३ नम्बरको जीप हिजो साँझ ६ः३० बजेतिर बाढीले बगाउँदा तीन पुरुषसहित गाडीसमेत बेपत्ता भएको हो। चार जना सवार उक्त जीपमा ड्राइभर भने हामफालेर बाँच्न सफल भएका छन्। जिल्ला प्रहरी कार्यालयका पर्वतका अनुसार जीप र हराइरहेका यात्रुको खोजी कार्य भइरहेको छ।
घटनास्थलमा प्रहरी र सुरक्षाकर्मीले उद्धारकार्य जारी राखेका छन्। शनिबार साँझ परेको भीषण वर्षाका कारण उक्त खोलामा बाढी आएको हो। सडकमा पुल नभई कजवे पार गर्ने क्रममा जीप बगाएको हो।