तनहुँ। व्यास नगरपालिका–१० दुम्सीको शिव माध्यमिक विद्यालयमा प्रविधिमैत्री स्मार्ट बोर्डमार्फत पढाउन शुरु गरिएको छ। विद्यालयमा चक, डस्टर, ह्वाइट बोर्ड र मार्करलाई विस्थापन गरेर प्रोजेक्टर, युपिएसको सहायताले ई–बुकमार्फत विद्यार्थीलाई पढाउन थालिएको हो ।
सबैको स्वास्थ्यको लागि पनि राम्रो मानिने यस्तो बोर्डले पढाउन सहज बनाएको शिव माविका एक शिक्षकले बताए । उनले शिक्षक शिक्षिकाले चक डस्टर प्रयोग गर्दा लुगाकपडा धुलाम्यै हुने स्थिति अन्त्य भएको भन्दै कक्षा ६ देखि कक्षा १० सम्मका विद्यार्थीलाई प्रोजेक्टर युपिएसको प्रयोग गरि पढाउन थालेको जानकारी दिए। तालिम प्राप्त शिक्षक शिक्षिकाबाट शिक्षण सिकाइ थालिएपछि विद्यार्थीका लागि सहज हुनाका साथै उनीहरू उत्साहित पनि भएका छन् ।
व्यास नगरपालिका कार्यालयले सोलार प्यानल जडानका लागि रु दुई लाख विनियोजन गरेकाले विद्युत् भार कटौतीको समयमा पनि समस्या नहुने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विकास रिजालले जानकारी दिए ।