ललितपुर। गोदावरी नगरपालिका–९ छम्पीका भूमिहीन सुकुम्बासीलाई निस्सा वितरण गरिएको छ। राष्ट्रिय भूमि आयोग जिल्ला समिति ललितपुरले गोदावरी नगरपालिका–९ छम्पीका २३ भूमिहीन परिवारलाई निस्सा वितरण गरेको हो।
निस्सा वितरण कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा ललितपुर क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य उदयशम्शेर राणाले नेपाली भूमिमाथि सबै नेपालीको अधिकार रहेको बताए। पहिलोपटक विपी कोइराला नेतृत्वको निर्वाचित सरकारले भूमिसुधार लागू गरेको उल्लेख गर्दै नेता राणाले तीन–चारपटक भूमि सुधार नीति अगाडि बढेको समेत बताए।
गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले दुई महिनाभित्र नगरपालिकाका सबै वडामा निस्सा वितरणको काम सम्पन्न गर्ने बताए । भूमि आयोग जिल्ला समिति सदस्य रमेशप्रसाद घिमिरेले आयोगले सक्रियताका साथ काम गरिरहेको उल्लेख गर्दै पहिले सुकुम्बासी पहिचान गर्ने र प्रमाणित भएपछि स्थानीय तहले उपलब्ध गराएको स्थानमा जग्गाधनी पुर्जा वितरण गरिने बताए ।
समितिले यसअघि बागमती, कोन्ज्योसोम, महाँकाल गाउँपालिकाका साथै गोदावरी–३, ७ र १२ का भूमिहीनलाई निस्सा वितरण गरिसकेको छ ।