काठमाडौं। हिमाली जिल्ला मनाङ जाने क्रममा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ। मनाङको नासों गाउँपालिका–३ खोत्रोडाँडामा अमेरिकी नागरिक ६९ वर्षीय चाल्स केथ डेभिजको मृत्यु भएको हो।
डेभिज श्रीमती वेथ एन फोड्रियत, पथप्रदर्शक, चालक र पोटरसहित बा६च ७५६ नम्बरको गाडीमा लमजुङबाट मनाङ सदरमुकाम चामे आउँदै गरेका थिए। बेँसीसहर–चामे सडकखण्डअन्तर्गत मनाङको नासों गाउँपालिका–३ खोत्रोडाँडाबाट सडकमा झरेको ढुंगा पन्छाउने क्रममा बुधबार राति उनी सडकबाट करिब सय मिटर तल मर्स्याङ्दी नदी किनारमा खसेको मनाङ प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय चामे र इलाका प्रहरी कार्यालय धारापानीबाट खटिएको प्रहरी टोलीले उनको राति नै उद्धार गरी उपचारका लागि मनाङ जिल्ला अस्पताल चामे ल्याएको थियो । उपचारकै क्रममा बिहीबार बिहान उनको मृत्यु भएको प्रहरीले जनाएको छ।