काठमाडौं। दोलखाको चरिकोट अस्पतालमा भेन्टिलेटर र आईसियु भए पनि हालसम्म सञ्चालनमा आएको छैन्। आईसियुमा राख्नु पर्ने बिरामीहरुलाई अर्को ठाउँमा पठाउनु पर्ने बाध्यता रहेको छ। यो भन्दा अगाडी कोरोना महामारीको समयमा अस्पतालमा आईसियु र भेन्टिलेटरको अभावमा अधिकांश बिरामीहरुले अकालमा ज्यान गुमाएका थिए।
उक्त अस्पतालमा लगभग ३ करोड रुपैँयामा ६ वटा भेन्टिलेटर र आईसियु खरिद गरिएको भएता पनि हालसम्म थन्किएर रहेको छ। जिल्लामै पहिलो पटक दोलखास्थित धुलिखेल अस्पतालले भेन्टिलेटर र आईसियु सञ्चालनमा ल्याएपछि बिरामीलाई राजधानीका अस्पताल पुर्याउनु पर्ने बाध्यता हटेको छ। काठमाडौं विश्वविद्यालय अन्तर्गतको धुलिखेल अस्पतालले दोलखामा पनि अत्याधुनिक सेवा सहितको ५० शय्याका अस्पताल सञ्चालनमा ल्याएको हो। उक्त अस्पतालमा ४ वटा अत्याधुनिक भेन्टिलेटर र आईसियुसहितको शय्या पहिले पटक सञ्चालनमा ल्याएको अस्पतालका मेडिकल अधिकृत डा.राजकुमार दंगालले जानकारी दिएका छन्।
दोलखा जिल्लामा नै पहिलो पटक बालबालिकाो लागि पनि भेन्टिलेटर र आईसियु सञ्चालनमा ल्याएको उनले बताएका छन्। उक्त सेवाहरु सञ्चालनमा ल्याई दुर्गम क्षेत्रका बासीन्दाहरुलाई सहज ढंगले सेवा दिन थालेको उनको भनाई छ। एक महिना अघिबाट मात्र सुरु भएको उक्त सेवा गरिब र अति विपन्न वर्गलाई निः शुल्क दिदैँ आएको जनाइएको छ। जिल्लाभरका बिरामीहरुलाई भेन्टिलेटर तथा आईसियुको आवश्यकता पर्यो भने राजधानी रिफर गर्नुपर्ने बाध्यता भएको कारणले गर्दा अस्पतालमा ४ वटा भेन्टिलेटर जडान गरिएको हो। ४ वटा भेन्टिलेटरमा १ वटा भेन्टिलेट बालबालिकालाई लक्षित गरेर जडान गरिएको छ।
न्युन रकममा नै उक्त सेवा सञ्चालन गरिएको अस्पतालले जनाएको छ। सो अस्पतालले मातृसुरक्षा कार्यक्रम पनि सुरु गरेको छ। ग्र्भवती हुन नसकेकाको अस्पतालले निःशुल्क शल्यक्रिया सुरु गरेको अस्पताल प्रशासनले जानकारी दिएको छ।