काठमाडौं। म्याग्दीको अन्नपुर्ण गाउँपालिका–४ नारच्याङदेखि अन्नपुर्ण प्रथम हिमालको उत्तरी आधार शिविर जोड्ने ‘मौरिस हर्जोग ट्रेल’ मा पूर्वाधार निर्माण भएपछि सो पदमार्ग चिटिक्क भएको छ। यसैगरी ८ हजार ९१ मिटर अग्लो अन्नपुर्ण प्रथम हिमालको आधार शिविर जाने सो ट्रेलमा पूर्वाधार निर्माण हुन थालेपछि पर्यटकलाई सहज वातावरण सिर्जना भएको छ।
उक्त गाउँपालिका–४ नारच्याङबाट २ दिनमै आधार शिविर पुग्न सक्नेगरी पदमार्ग, आश्रयस्थल, विश्राम गर्ने चौतारी लगाएतका पूर्वाधार निर्माण गरिएको हो। यसैगरी पर्यटन मन्त्रालयबाट बिनियोजन भएकमे करिब २ करोड ८० लाख बजेटबाट गत वर्षबाट नै निर्माण सुरु भएको पूर्वाधार निर्माण योजना हाल अन्तिम चरणमा पुगेको छ। सो पदमार्ग नेपाल भ्रमण वर्ष २०२० का अवसरमा सञ्चालन गरिएको थियो। ८ हजार मिटर भन्दा अग्ला हिमालको पहिलोपटक आरोहण गरेका फ्रान्सका मौरिस हर्जोगका नाममा निर्माण भएको उक्त पदमार्ग आधार शिविर पुग्ने सुरक्षित र छोटो पदमार्ग हो।
पर्यटकहरुलाई सहज वातावरण सिर्जना गर्न साथै व्यापार प्रचार प्रसार गर्नका लागि पूर्वाधार निर्माण गरिएकोे गाउँपालिकाका अध्यक्षले जानकारी दिएका छन्। उक्त पदमार्गलाई गाउँपालिकाले पर्यटन विकासको नयाँ आयामको रुपमा पनि लिएको छ। नरच्याङको दोभान–छोटेपा हुँदै हुमखोलासम्म सडक सञ्जाको पहुच पुगेपछि हुमखोला देखि आधार शिविरसम्मको पदमार्ग लगाएतका पूर्वाधार निर्माण गरिएको हो। अहिलेसम्म सो क्षेत्रमा ढुंगा चिनेर ६ हजार ५०० खुट्किलो सिँढी निर्माण गरिएको छ भने करिब १४ किलोमिटर पदमार्ग निर्माण भएको पदमार्ग निर्माण समितिका स्थानीय संयोजकले जानकारी दिएका छन्।
सो पदमार्ग अन्तर्गत छोटेपा, हुमखोला, सन्धिखर्क, भुसकेत, फुतफुते झरना, धर्मशालामा गरी ६ ठाउँको खोलामा झोलुङगे पुल निर्माण गरिएको र ६ ठाउँमा आश्रयस्थल निर्माण भइरहेको छ।