काठमाडौं। मुलको पानी जस्ताको त्यस्तै भरेर बिक्रि गर्ने कम्पनी कारबाहीमा परेको छ। बालाजी बेभरेज कम्पनीको ‘अक्वा च्वाइस’ नामको पानी दुषित भेटिएपछि उक्त कम्पनी कारबाहीमा परेको हो।
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको अनुमनमा बुढानिलण्ठमा रहेको उक्त कम्पनीले मुलको पानी जस्ताको त्यस्तै भरेर बजार पठाउने गरेको फेला परेको हो ।
विभागका निरीक्षक अधिकृत धनेश्वर पौडेलले भने, ‘अनुगमनको क्रममा कम्पनी परिसरमा फोहोर भेटियो, सरसफाइमा ध्यान दिएको देखिएन । मुलको पानी जस्ताको त्यस्तै भरेर ल्याउने गरेको भेटियो, जारमा प्रशोधित भनिए पनि प्रशोधन गरेको पाइएन । पानी खानलाई सुरक्षित थिएन ।’
सरसफाइमा लापरवाही गरेपछि उक्त बेभरेजलाई २० हजार रुपैयाँ जरिवाना गरिएको उनले बताए । विभागका अनुसार यसअघि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पनि उक्त बेभरेजमा अनुगमन गरेको थियो ।
त्यसक्रममा सरसफाइमा ध्यान नदिएको, जारको क्यापु नलगाएको लगायत आधा दर्जन बढी कैफियत निकालेको थियो । कैफियत भेटिएपछि सुधार नगरेसम्म शिलबन्दी समेत गरिएको थियो।