काठमाडौं। दार्चुलाको अपि हिमाल गाउँपालिकाले ‘स्वच्छ अपि, धुँवामुक्त अपि’ कार्यक्रम अन्तर्गत गाउँपालिकाभरीका १३ सय घरधुरीलाई ग्यास सिलिण्डरसहित चुल्हो वितरण गरेको छ। चालु आर्थिक वर्ष २०७८/०७९ को स्वीकृत कार्यक्रम अन्तरगत गाउँपालिका अन्तर्गत ६ वटै वडाका सबै परिवारलाई ग्यास सिलिण्डर र चुल्हो सेट वितरण गरिएको गाउँपालिका अध्यक्षले जानकारी दिएका छन्।
उक्त गाउँपालिकाले चालु आर्थिक बर्षमा ‘स्वच्छ अपि, धुँवामुक्त अपि’ कार्यक्रम अन्तरगत ग्यास सिलिण्डरसहित चुल्हो खरिदका लागि ९५ लाख बजेट विनियोजन गरेको थियो। ९५ लाखमा टेण्डरमार्फत् कम्पनी छनोट गरेर गाउँपालिकाले निःशुल्क ग्यास सिलिण्डर र चुल्हो वितरण गरेको हो।
सो गाउँपालिका भरीका १३ सय घरधुरीलाई रेडियण्ट ग्यास वितरण गरिएको र केही परिवार छुटेको भए बाँकी रकमबाट ग्यास खरिद गरेर वितरण गरिने जानकारी गराइएको छ। अपि हिमालको केन्द्रसम्म सडक नपुगेको कारण वडा नम्बर ५ ओखलमा एक औपचारिक कार्यक्रमको आयोजना गरी ग्यास सिलिण्डर र चुल्हो सेट वितरण गरिएको हो। ग्यास सिलिण्डरसहित चुल्हो सेट पाएपछि स्थानीय खुसी भएका छन्। यसैगरी गाउँपालिकाले जनतामा प्रत्यक्ष पुग्ने यस्तै खालका कार्यक्रम सञ्चालन गर्नुपर्ने स्थानीयले बताएका छन्।