काठमाडौं। बैंकिङ कसूर तथा सजाय (दोस्रो संशोधन) र भन्सार विधेयक संसद्मा प्रस्तुत गरिएको छ। सरकारले दुवै विधेयक प्रतिनिधि सभाको आइतबार बसेको बैठकमा प्रस्तुत गरेको हो।
दुवै विधेयक अर्थमन्त्री डा.प्रकाशशरण महतका तर्फबाट कानुनमन्त्री धनराज गुरुङले प्रस्तुत गरेका हुन्। अर्थमन्त्री महत विदेश भ्रमणमा रहेकाले उनका तर्फबाट कानुनमन्त्री गुरुङले विधेयक प्रस्तुत गरेका हुन्।
सरकारले बैंकिङ कसूर तथा सजाय विधेयक असोज १६ र भन्सार विधेयक असोज १८ गते संसद्मा दर्ता गराएको थियो।
ती दुवै विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवालले विरोधको सूचना राखेका थिए।
विधेयकले बैंकिङ कसुर नियन्त्रण तथा भन्सार प्रशासनलाई प्रभावकारी बनाउन सहयोग नपुग्ने भन्दै सुवालले विरोधको सूचना प्रस्तुत गरेका हुन्। उनले सूचना प्रस्तुत गर्ने क्रममा सिपिङ कम्पनी सरकार मातहत हुनुपर्ने बताएका थिए। तर बैठकले विरोधको सूचना अस्वीकृत गरेको थियो।