काठमाडौं। सामसुङ कम्पनीले अमेरिकाको टेक्सासमा सेमिकन्डक्टर उत्पादन कारखाना खोल्ने भएको छ । स्मार्टफोन लगायतका डिभाइसहरुमा प्रयोग हुने चिप्स अर्थात् सेमिकन्डक्टरको विश्वव्यापी अभावलाई कम गर्नका लागि सामसुङले कारखाना खोल्न लागेको हो।
यसका लागि कम्पनीले १७ अर्ब डलर लगानी गर्ने भएको छ। टेक्साको यो कारखाना सामुङले अमेरिकामा गरेको अहिलेसम्मकै सबैभन्दा ठूलो लगानी हुनेछ । सामसुङले यसबाट प्रत्यक्ष रुपमा दुई हजार उच्च प्राविधिक जनशक्तिलाई रोजगारी प्राप्त हुने समेत जानकारी दिएको छ। सन् २०२४ को उत्तरार्धबाट उक्त कारखाना सञ्चालनमा ल्याउने लक्ष्य सामसुङको छ ।
सामसुङ इलेक्ट्रोनिक्सका उपाध्यक्ष तथा सिइओ किनाम किमले उच्चतम उत्पादन क्षमताका साथ ग्राहकहरुको आवश्यकतालाई राम्रोसँग पूरा गर्न र विश्व सेमिकन्डक्टर आपूर्ति श्रृंखलाको स्थायित्वमा पनि योगदान दिने प्रतिबद्धता व्यक्त गरेका छन्।