पोखरा। पोखरामा एन्ड्युरो अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता हुने भएको छ। माउन्टेन बाइक कम्पनी डन टिल डस्कको आयोजनामा यहि मंसिर ७ देखि पोखरा महानगरपालिका वडा नं. १३ को आर्बा–बिजय डाँडामा प्रतियोगिता हुन लागेको हो ।
तीन दिनसम्म हुने प्रतियोगितामा विभिन्न ११ देशका खेलाडीले सहभागिता जनाउने आयोजकले जनाएको छ । प्रतियोगिताका रेस डाइरेक्टर सुनिलचन्द्र शर्माले नेपालसहित ११ देशका ८८ जना प्रतिस्पर्धीले सहभागि जनाउने जानकारी दिए । उनका अनुसार प्रतियोगितामा इलिट पुरुषतर्फ जुनियर (१२–१८ वर्ष), मास्टर्स ‘क’ (३०–३९ वर्ष), मास्टर्स ‘ख’ (४०–४९ वर्ष), भेट्रान (५० वर्ष माथि), महिला ओपन तथा इ–बाइक गरि ७ विधामा प्रतिस्पर्धा हुनेछन् ।
खेलकुद र पर्यटनलाई टेवा पुराउनका लागि प्रतियोगिता आयोजना गरिएको डन टिल डस्कका प्रवन्ध निर्देशक छिमी उक्रेन गुरुङले जनाए । २०२० देखि तयारी गर्दै उक्त क्षेत्रमा संरचना बनाउन ५० लाख रुपैँया लगानी भैसकेको र थप २० लाख लगानी लाग्ने गुरुङको भनाई छ । साथै उक्त क्षेत्रमा प्रतियोगितालाई निरन्तरता दिने उनले बताए ।
प्रतियोगिताको जानकारी दिने उद्देश्यले आयोजित पत्रकार सम्मेलनमा पोखरा महानगरपालिका वडा नं. १३ का वडाध्यक्ष किरण बरालले पर्यटन प्रवद्र्धनका लागि आर्बालाई चुनिएकोमा आभार व्यक्त गरे । प्रतियोगितालाई निरन्तरता दिन आग्रह गर्दै वडाध्यक्ष बरालले महानगरबाट पनि सहयोगको लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गरे ।