एजेन्सी। इन्डोनेसियाको बान्दा सागरमा ७.१ म्याग्निच्युडको भूकम्प गएको छ। बुधबार बिहान स्थानीय समयअनुसार ११ः५३ बजे ७.१ म्याग्निच्युडको भूकम्प गएको अमेरिकाको भूगर्भ सर्वेक्षण (युएसजिएस) ले जनाएको हो।
भूकम्पका लागि कुनै पनि सुनामी जारी गएको थिएन । इन्डोनेसियाली मौसम विज्ञान, जलवायु र भूभौगर्भिक एजेन्सी (बिएमकेजी) का अनुसार मुलुकको तनिमबार टापु समूहको सौमलाकी सहरमा भूकम्पको कम्पन मध्यमरूपमा महसुस गरिएको थियो ।
“भूकम्प अत्यन्त तीव्र थियो तर यहाँका मानिस आत्तिएका थिएनन्, हामी भूकम्पको सामना गर्न अभ्यस्त भइसकेका छौँ”, सौमलाकी निवासी ल्याम्बर्ट टाटाङले एएफपीलाई भने, “विशेष गरेर सुनामीको कुनै खतरा छैन भन्ने थाहा भएपछि जनजीवन सामान्य भएको छ ।”
प्रशान्त क्षेत्रको ‘रिङ अफ फायर’ मा रहेका कारण इन्डोनेसियाले लगातार भूकम्पको अनुभव गर्दछ । जापानदेखि दक्षिणपूर्वी एसिया र प्रशान्त बेसिनसम्म फैलिएको ‘रिङ अफ फायर’ तीव्र भूकम्पीय गतिविधिको चाप हो ।