वीरगञ्ज। नेपाल खानेपानी संस्थान वीरगञ्ज पर्साले लामो समयदेखि खानेपानीको महसुल नबुझाउने ग्राहकको धाराको लाइन काट्न सुरु गरेको छ । धाराको पानी उपभोग गर्ने तर महसुल नबुझाउने परिपाटी बढ्दै गएपछि संस्थानले पहिलो चरणमा ५० हजारभन्दा बढी बक्यौता राख्ने पाँच सय ४२ ग्राहकको नाम कालोसूचीमा राखेर धाराको लाइन काट्न सुरु गरेको हो ।
महसुल बुझाउन पटक।पटक पत्राचार गरे पनि ग्राहकले बक्यौता बुझाउन आलटाल गर्दै आएपछि धाराको लाइन काट्न सुरु गरिएको नेपाल खानेपानी संस्थान वीरगञ्जले जनाएको छ । पछिल्लो एक सातादेखि धाराको लाइन काट्न सुरु गरेयता ११ ग्राहकको धाराको लाइन काटिएको बताइएको छ।
संस्थानले ग्राहकबाट करिब १२ करोड २६ लाख रुपैयाँ बक्यौता उठाउन बाँकी रहेको जनाएको छ । संस्थानले एउटै ग्राहकबाट दुई लाख रुपैयाँभन्दा बढीसम्म बक्यौता उठाउनुपर्ने देखिएकाले कालोसूचीमा राखेर सूची प्रकाशन गरी धाराको लाइन काटेरै भए पनि बक्यौता असुल गर्ने योजना बनाएको हो।