तस्बिर:गाेरखापत्र
काठमाडौं। काठमाडौँ–तराईरमधेश द्रुतमार्गमा ‘हाइब्रिज’ का लागि धरहराभन्दा अग्ला खम्बा निर्माण भइरहेका छन् । आयोजनाका अनुसार धरहराको भुइँ सतहदेखि गजुरसम्म कुल उचाइ ७८ मिटर रहेकोमा दु्रुतमार्गमा निर्माण हुने ‘हाइब्रिज’ मा ८२ मिटरसम्मका खम्बा निर्माण भइरहेका छन् ।
काठमाडौँ–तराईरमधेश द्रुतमार्ग आयोजना, सडक निर्माण कार्यदल बेसक्याम्प लेनडाँडाका प्राविधिक प्रमुख सेनानी विनोद श्रेष्ठले द्रुतमार्गमा पुलको काम धमाधम भइरहेको बताए। उनले पुलका लागि ठेक्का व्यवस्थापन भई कार्यान्वयनमा रहेका प्याकेज एकदेखि पाँचसम्म ४५ वटा पुलका लागि कुल एक हजार ७६८ पाइलमध्ये एक हजार १७५ वटा पाइलको काम सम्पन्न भएको बताए । आयोजना अन्तर्गत निर्माण गरिने ८९ वटा पुलको कुल लम्बाइ १२.८८५ किलोमिटर हुने छ ।
प्रमुख सेनानी श्रेष्ठले निर्माणाधीन तीन वटा सुरुङको कुल लम्बाइ ६.४१५ किलोमिटरमध्ये अहिलेसम्म ३.१५३ किलोमिटर अर्थात् ४९.१६ प्रतिशत सुरुङ निर्माण सम्पन्न भइसकेको बताए । उनका अनुसार महादेवटार सुरुङ मार्गको कुल लम्बाइ ३.३५५ किलोमिटरमध्ये अहिलेसम्म १.४९० किलोमिटर, धेदे्र सुरुङ मार्गको कुल लम्बाइ १.६३ किलोमिटरमध्ये अहिलेसम्म ८०६ मिटर र लेनडाँडा सुरुङ मार्गको कुल लम्बाइ १.४३ किलोमिटरमध्ये अहिलेसम्म ८५७ मिटर सुरुङ मार्ग निर्माण सम्पन्न भइसकेको छ । आयोजना अन्तर्गत निर्माण गर्नुपर्ने सुरुङ मार्गको कुल लम्बाइ १०.०५५ किलोमिटर छ ।
उक्त आयोजना अन्तर्गत छ वटा सुरुङ मार्ग निर्माण गर्नुपर्नेमा अहिलेसम्म तीन वटाको ठेक्का लगाउन बाँकी छ । ठेक्का लगाउन बाँकी रहेका देवीचौर सुरुङ मार्गको लम्बाइ एक किलोमिटर, सिसौटार सुरुङ मार्गको लम्बाइ ०.३९ किलोमिटर र चन्दाम भीर सुरुङ मार्गको लम्बाइ २.२५ किलोमिटर हुने छ । गोरखापत्रबाट