काभ्रेपलाञ्चोक। ७ हजार व्यक्तिलाई खानेपानी पुर्याउने लक्ष्यका साथ सुरु गरिएको पाँचखाल बृहत् सहरी खानेपानी तथा सरसफाइ आयोजना थपिएको समयमा पनि सम्पन्न हुन सकेको छैन। निर्माण व्यवसायी कम्पनीले तीन वर्षदेखि काममा आलटाल गरेका कारण आयोजना अधुरै हुन पुगेको हो।
आयोजनाका लागि सम्झौताअनुसार दातृ निकाय, नेपाल सरकारको बजेटसँगै ५ हजार ३ सय परिवारले प्रतिपरिवार १८ हजार रुपैयाँका दरले रकम बुझाइसकेका छन् । विविध कारण आयोजनाको समायावधि १० महिना थप गरी गत कात्तिक १५ गतेभित्र नगरका ७ हजार नागरिकका घरमा खानेपानी पुर्याउने लक्ष्य लिइएको थियो ।
आयोजनाको काम २०७९ पुसभित्र सक्नुपर्ने गरी सहरी खानेपानी तथा सरसफाइ (क्षेत्रगत) आयोजना, नगर विकास कोष, पाँचखाल नगरपालिका र खानेपानी उपभोक्ताबीच सम्झौता भएको थियो । निर्माण कम्पनीले सामग्री अभावले समयमै काम सम्पन्न गर्न नसक्ने जनाएपछि १० महिना समयावधि थपिएको थियो।
खानेपानी आयोजनासँग सम्झौता गरेको निर्माण कम्पनी हुवाइ कन्काई जेभीका परियोजना व्यवस्थापक इन्द्रमानसिं बस्नेतले आयोजना सञ्चालकले आवश्यक सामग्री नल्याउँदा र सम्झौताअनुसार जनशक्तिलाई परिचालन गर्न नसक्दा काममा ढिलाइ भएको बताए । नगरको १३ मध्ये १० वडाका लागि खानेपानी आयोजना सञ्चालनार्थ एक अर्ब ३४ करोड ६६ लाख रुपैयाँमा उक्त निर्माण कम्पनीसँग सम्झौता भएको थियो । आयोजना सम्झौताको शर्तानुसार कुल योजनाको पाँच प्रतिशत अर्थात् ११ करोड पाँच लाख रुपैयाँ उपभोक्ताले जम्मा गरिसकेका हुन् ।