तनहुँ। बन्दीपुर केबुलकार एन्ड टुरिजमले निर्माण गरेको केबुलकार माघ १ गतेदेखि सञ्चालनमा ल्याउने तयारी गरिएको छ । ‘क्विन टावर’ नाम दिइएको १७ तल्लाको पाँचतारे होटल र केबुलकार एकैसाथ सञ्चालनमा ल्याउने तयारीका साथ अन्तिम चरणको कार्य भइरहेको छ।
पहाडकी रानी उपनाउँले परिचित बन्दीपुरमा सञ्चालनको अन्तिम चरणमा रहेको केबुलकार र पाँचतारे होटलले उक्त ठाउँको अर्थतन्त्र सबल बनाउन महत्वपूर्ण योगदान पु¥याउने विश्वास गरिएको छ ।
टावरभित्र व्यवस्थापन तथा कोठाहरु मिलाउने र सभा हल निर्माण कार्य भइरहेको बन्दीपुर केबुलकार एन्ड टुरिजमले जनाएको छ। त्यसैगरी केबुलकारतर्फ एकपटक परीक्षण गरिसकिएको र कुनै कुनै टावरमा सामान्य सुधार गर्नुपर्ने भएकाले अन्तिम तयारीको कार्य भइरहेको बताइएको छ। केबुलकार सञ्चालनका लागि अन्तर्राष्ट्रियस्तरको गुणस्तरीय अनुमतिपत्र लिनका लागि प्रक्रियामा रहेको छ ।