काठमाडौं। सहरी विकास अन्तर्गतको संघीय आयोजना कार्यन्वयन इकाईले काम नगर्ने ८ वटा निर्माण कम्पनीसँगको ठेक्का तोड्ने भएको छ। इकाईले सार्वजनिक सूचना जारी गर्दै विभिन्न सडक, पुल र पार्क निर्माणको काम म्याद थप गर्दा पनि अलपत्र पार्ने कम्पनीसँग ठेक्का तोड्ने तयारी गरेको हो।
इकाईले स्काई भुसाल जेभी, भुसाल बस्नेत जेभी, विकास एण्ड ब्रदर्स भुसाल बस्नेत जेभी, भुसाल कन्स्ट्रक्सन एण्ड सप्लायर्स, शाइन कन्स्ट्रक्सन, जनक जननी कन्स्ट्रक्सन, काष्ठमण्डप तिरुपति जेभी र वाइड एंगल निर्माण सेवासँग ठेक्का तोड्न लागेको जनाएको छ।
यी निर्माण कम्पनीहरुले २०७५ देखि ठेक्का सम्झौता गरेर निर्माण कार्य बलपत्र पार्दै आएको इकाईद्वारा जारी सूचनामा भनिएको छ। पटकपटक ताकेता गर्दा समेत सम्पर्कविहीन भएको र निर्माणको कामले तीव्रता नपाउँदा योजना अलपत्र बनेको छ।
८ वटै निर्माण कम्पनीका प्रतिनिधिलाई ठेक्का नतोड्ने कुनै कारण र स्पष्टीकरण भए लिखित रुपमा ७ दिनभित्र ल्याएर आफूसहित कार्यालय उपस्थिति हुन इकाईले निर्देशन दिएको छ। तोकिएको समयभित्र कुनै जवाफ वा प्रतिनिधि उपस्थिति नभए ठेक्का तोड्ने चेतावनी दिइएको छ।