रुपन्देही। लुम्बिनी प्रादेशिक अस्पतालमा क्यान्सर स्क्रिनिङ एण्ड डाइग्नोष्टिक सेन्टर स्थापना हुने भएको छ । करिब १० करोड रुपैयाँ लागतमा रोटरी क्लब अफ बुटवलले मेगा प्रोजेक्टका रुपमा क्यान्सर स्क्रिनिङ सेन्टर स्थापना गर्न लागेको हो ।
क्लबले मंगलबार बुटवलमा पत्रकार सम्मेलन गरेर प्रदेशमै पहिलो पटक क्यान्सर स्क्रिनिङ सेन्टर स्थापनाका लागि अस्पतालसंग सम्झौता भई प्रक्रिया अघि बढेको जानकारी दिएको हो।
विशेष गरी महिलाको पाठेघर र स्तनको क्यान्सर रोग पत्ता लगाउने उद्देश्यले सेन्टर स्थापना गरिएको क्लबले जनाएको छ।
क्लबले स्वास्थ्य र सामाजिक क्षेत्रलाई लक्षित गर्दै अन्य तीनवटा योजना पनि अगाडि बढाएको छ ।
क्लबले रक्तसञ्चार सेवा केन्द्र बुटवलसँगको सहकार्यमा रोटरी ब्लड कलेक्सन मोवाइल भ्यान पनि सञ्चालन प्रक्रिया अघि बढाएको जनाएको छ।
त्यसैगरी क्लबले बुटवल उपमहानगरपालिकाभित्र ट्राफिक लाइट जडानको प्रक्रिया पनि शुरु गर्दै छ । करिव ४५ लाखको लागतमा बुटवल उपमहानगरपालिकासँग सहकार्य गरी यो काम अघि बढाइने र यसका लागि रोटरीले मात्रै १५ लाख रुपैयाँ लगानी गर्ने छ ।