काठमाडौं। देशभरका सार्वजनिक निकायमा ब्रोडब्यान्ड इन्टरनेट पुर्याउने परियोजना अन्तिम चरणमा पुगेको छ। नेपाल दूरसञ्चार प्राधिकरणले ५ अर्ब ६७ करोड रुपियाँ लगानीमा देशभरका स्थानीय निकायको कार्यालय, वडा कार्यालय, माध्यमिक विद्यालय र स्वास्थ्य संस्थामा इन्टरनेट जडान गर्ने गरी सो परियोजना अगाडि बढाइएको थियो।
देशभर कुल १५ हजार ९८२ वटा तोकिएका सार्वजनिक निकायमा ब्रोडब्यान्ड इन्टरनेट पुर्याउने लक्ष्यमध्ये कात्तिकसम्म १५ हजार ३४९ निकायमा जडान भइसकेको प्राधिकरणले जानकारी दिएको छ। हालसम्म सो परियोजनाको ९६ प्रतिशत काम सम्पन्न भइसकेको छ। कुल १८ वटा प्याकेज बनाएर देशभर जडानको काम सुरु गरिएको उक्त परियोजनाअन्तर्गत कात्तिकसम्म ६७६ स्थानीय निकायको कार्यालयमा काम सम्पन्न भइसकेको छ।
सो परियोजनाअन्तर्गत कुल ७०२ कार्यालयमा इन्टरनेट जडान गर्ने सम्झौता भएको थियो। अब २६ वटा स्थानीय कार्यालयमा मात्र इन्टरनेट जडान गर्न बाँकी छ। त्यसैगरी कुल ५ हजार ९३३ वडा कार्यालय ब्रोडब्यान्ड इन्टरनेट जडान सम्झौता भएकोमा ५ हजार ३ वटा कार्यालयमा जडान भइसकेको छ भने ४ हजार १२२ वटा स्वास्थ्य संस्थामा जडान गर्ने सम्झौता भएकोमा ४ हजार १७ वटा संस्थामा जडानको काम सम्पन्न भइसकेको प्राधिकरणले जानकारी दिएको छ।
सो परियोजना अन्तर्गतका १६ वटा प्याकेजमध्ये ६५ जिल्लामा तोकिएबमोजिमका स्थानहरूमा शतप्रतिशत काम सम्पन्न भइसकेको छ। त्यस्तै एउटा प्याकेजमार्फत पाँच जिल्लाका तोकिएबमोजिमका स्थानमा ५० प्रतिशतभन्दा बढी काम सम्पन्न भइसकेको प्राधिकरणले जनाएको छ।
हालसम्म सम्पन्न भएका परियोजनाहरुमध्ये ६ वटा परियोजनाको अनुगमन तथा प्रमाणीकरणको काम सम्पन्न भइसकेको छ। साथै २ वटा परियोजनाको परामर्शदाताबाट पहिलो चरणअन्तर्गतको अनुगमन र प्रमाणीकरणको काम सम्पन्न भइसकेको छ भने दोस्रो चरणअन्तर्गतको अनुगमन तथा प्रमाणीकरणको काम भइरहेको प्राधिकरणले जानकारी दिएको छ। यसैगरी ग्रामीण दूरसञ्चार विकास कोषको रकम उपयोग गरेर सेवा प्रदायकलाई प्रतिस्पर्धा गराएर उनीहरूमार्फत नै ब्रोडब्यान्ड जडानको काम भइरहेको छ। यसरी जडान गरिएको इन्टरनेट सम्बन्धित संस्थाले दुई वर्षसम्म निःशुल्क उपयोग गर्न पाउने भएका छन्।