धनुषा। धनुषाको हंसपुर नगरपालिकाले सिँचाइ र खानेपानीको समस्या समाधान गर्न सिँचाइलाई विद्युतीकरण गर्ने भएको छ । नेपाल विद्युत प्राधिकरण र हंसपुर नगरपालिकाबीच दुई पक्षीय सम्झौताअनुसार नगरपालिकाले सिँचाईका लागि विद्युतीकरण गर्न लागेको हो ।
हंसपुर नगरपालिका र प्राधिकरणको ५०/५० प्रतिशत लागत साझेदारीमा कृषकका खेतमा बोरिङबाट पानी निकाल्न विद्युतीकरण गर्न लागिएको कृषि शाखाले जनाएको छ। यस कार्यक्रमको लागि नगरपालिकाले चालु आर्थिक वर्षमा ७५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । ७५ लाख नेपाल विद्युत प्राधिरकणको लगानी रहने छ ।
कृषकको खेत–खेतमा विद्युतीकरणका साथै विद्युतका लागि मिटर जडान र बोरिङका लागि पाइप पनि निस्शुल्क उपलब्ध गराउने पालिकाले जनाएको छ। नगरपालिकाले सिँचाइ गर्दा विद्युतमा अनुदान दिने समेत नीति लिएको छ ।