बृहनमुम्बई म्युनिसिपल कर्पोरेशन (बिएमसी) ले मुम्बईको वरली सी फेस क्षेत्रमा ट्राफिक सिग्नलको सम्पूर्ण पोल भरि नै एलईडी बत्ती जडान गरेको छ। बिएमसी को लागी पोलमा एलईडी बत्ती घुमाउन र ट्राफिक बत्तीसंग रंग मिलान गर्नको लागी एक चुनौतीपूर्ण काम भएको थियो।
जी उत्तर वार्डका सहायक नगरपालिका आयुक्त शरद उघाडेका अनुसार लामोे दूरीबाट सिग्नलहरुलाई देखियोस भन्ने उद्देश्यले सम्पूर्ण पोल भरि नै एलईडी बत्ती स्थापित गरिएको हो। बिएमसी शहरको अन्य क्षेत्रहरुमा पनि चाँडै लागू गरिने कुरा उनले बताए।
यी एलईडी जडित पोलहरुले ट्राफिक संकेत अनुसार रंग परिवर्तन गर्दछन् । ट्राफिक संकेत रातो हुँदा पोल पनि रातो, पहेंलो हुँदा पोल पनि उस्तै रंगको र हरियो हुँदा पोल पनि हरियो हुनेछ। युवा सेनाका अध्यक्ष आदित्य ठाकरेले पनि ट्वीटरमा यस परियोजनाको पछाडि टोलीको प्रयासको प्रशंसा गरेका छन् ।
यस्तो प्रणाली पक्कै पैदल यात्रीहरुको लागी प्रभावकारी हुनेछ। विश्व स्वास्थ्य संगठनले २०१८ मा भारतमा करिब ३ लाख सडक दुर्घटनामा मृत्यु हुने अनुमान गरेको छ। यसले मृत्युद्दर घट्ने आशा गरियको छ ।