काठमाडौं। नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुहान सफा गरेर वा अन्यत्र सारेर भएपनि सरकारले काठमाडौँवासीका लागि मेलम्ची खानेपानीको व्यवस्था गर्न ढिलो गर्न नहुने बताए।
पार्टीको झुलाघाट–चिवाभञ्ज्याङः समृद्धिका लागि संकल्प यात्राको क्रममा आइतबार सिन्धुपाल्चोकको मेलम्चीमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले काठमाडौँवासीका लागि मेलम्ची खानेपानीको व्यवस्था गर्न नसकेको भन्दै सरकारको आलोचना समेत गरे।
उनले आफ्नो पार्टीको नेतृत्वमा सरकार नभएको भए मेलम्चीको पानी काठमाडौँमा पुग्ने अवस्थानै नहुने दाबी समेत गरे ।
उनले एमालेले देशलाई बिग्रन नदिने भएकाले कसैले पनि निराश हुनुपर्ने अवस्था नरहेको बताए। अध्यक्ष ओलीले पार्टीको संकल्प यात्राको क्रममा लाखौं जनताको साथ, माया र सम्मान पाएको भन्दै आभार समेत व्यक्त गरे ।