काठमाडौं। नेपाल टेलिकमले एनटी फाइबर प्रविधि अन्तर्गत हाल टेलिफोन सेवा मात्र प्रयोग गरिरहेका सेवाग्राहीलाई अब परीक्षणको रुपमा एक महिनासम्म डाटा सुविधा निःशुल्क दिएको छ।
नेपाल टेलिकमले हिजो (२०८० मंसिर २५) देखि लागु हुनेगरी एनटी फाइबर प्रविधि अन्तर्गत टेलिफोन सेवा मात्र प्रयोग गरिरहेका सेवाग्राहीलाई प्रोमोसनल अफरका रुपमा एक महिनासम्म निःशुल्क ५० एमबीपीएस स्पिडको डाटा सेवा उपलब्ध गराएको हो।
टेलिकमका अनुसार यो सेवा प्रयोग गर्नका लागि १९८–१ (१९८ मा डायल गरी प्राप्त सन्देशपश्चात फेरि १ डायल गरी) मा अनुरोध गर्न सकिन्छ । त्यसैगरी नजिकको दूरसञ्चार कार्यालयमार्फत पनि यो सुविधा लिन सकिन्छ ।
एक जना ग्राहकका लागि यो सुविधा एकपटक मात्र उपलब्ध हुने नेपाल टेलिकमले जानकारी दिएको छ । एक महिनाभन्दा बढी समय सम्म यो सेवा निरन्तर प्रयोग गर्ने इच्छा भएमा सेवाग्राहीले १९८–१ मा कल गरी वा नजिकको दूरसञ्चार कार्यालयमा सम्पर्क गरी सःशुल्क सेवा प्रयोग गर्न सक्ने टेलिकमले जनाएको छ।