काठमाडौं। गण्डकी प्रदेशमा ३० हजार बढी काठका जीर्ण पोल विस्थापन गरिएको छ। प्रदेश तथा स्थानीय तह र नेपाल विद्युत् प्राधिकरणसँगको सहकार्यमा काठका खम्बा विस्थापित गरिएको हो ।
प्रदेशको ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयका प्रवक्ता हरिदत्त पौडेलले प्रदेश सरकार स्थापना भएयता ३० हजार ४ सय ८१ काठका जीर्ण खम्बा हटाएको जानकारी दिएका छन्।
प्राधिकरणसँग विस्तृत तथ्यांक लिएर स्थानीय सरकारसँगको साझेदारीमा जीर्ण काठको पोल हटाइएको छ। पर्वत, म्याग्दी, मनाङ, नवलपुर, कास्की, मुस्ताङको अधिकांश जीर्ण पोल हटाइसकिएको छ । बागलुङ, लमजुङ, तनहुँ, स्याङ्जा, गोरखा जिल्लामा अझै बाँकी छ ।
सामुदायिक संस्था वा लघुजलविद्युत्बाट बिजुली वितरण भइरहेको क्षेत्रका पोलबारे विस्तृत तथ्यांक नभएकोले ती क्षेत्रमा भने खम्बा हटाउने, नयाँ पोल राख्ने काम भएको छैन।