भोजपुर। भोजपुरको हतुवागढी गाउँपालिकामा निर्माणाधीन हतुवागढी लिफ्ट खानेपानी आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । अनुमानित कुल १८ करोड ५३ लाख ८२ हजार रुपैयाँ लागतमा आयोजनाको काम थालनी गरिएको हो।
खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भोजपुरअन्तर्गत निर्माण भइरहेको यो आयोजनाको पाँच स्थानमा ट्याङ्की र पालेघर निर्माणसँगै चार हजार दुई सय मिटर मुख्य पाइप लाइन विस्तारको काम सम्पन्न भएको निर्माण उपभोक्ता समितिले जनाएको छ । अब शाखा लाइन विस्तार र करिब एक सय ५० मिटर मुख्य पाइप बिच्छ्याउन बाँकी रहेको समितिको भनाइ छ।
हाल मुहानबाट करिब एक सय ५० मिटर मुख्य पाइप लाइन विस्तार गर्न बाँकी छ । विद्युत विस्तारपछि पानी वितरणको काम थालनी गर्ने बताइएको छ ।
यो आयोजनाबाट हतुवागढी गाउँपालिका वडा नं १ र २ रानीबासका करिब आठ सय ४८ परिवारलाई पानी विस्तार हुने उपभोक्ता समितिको भनाइ छ ।