काठमाडौं। डिशहोम फाइबरनेट सुरु गरेको तेश्रो बर्षमै इन्टरनेट सेवामा देशकै दोस्रो ठूलो कम्पनी बन्न सफल भएको छ । नियामक नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको टेलिकम्युनिकेसन इन्डिकेटर्स प्रतिवेदन अनुसार भदौ २०८० मा कम्पनीले यस्तो रेकर्ड बनाएको हो ।
प्रतिवेदन अनुसार अप्टिकल फाइबर मार्फत उच्च गतिको इन्टरनेट सेवा उपलब्ध गराइरहेको डिशहोम फाइबर नेटका ग्राहक सङ्ख्या भदौ मसान्तसम्म तीन लाख १७ हजार ३१ रहेका छन् ।
त्यसो त डिशहोमले गत वैशाख पश्चात् प्राधिकरणलाई आफ्नो ग्राहक सङ्ख्याको जानकारी दिएको थिएन । वैशाखसम्म कूल इन्टरनेट ग्राहक दुई लाख २९ हजार ६४६ रहेको डिशहोमले त्यसयताका चार महिनाको अवधिमा ८७ हजार ३८५ ग्राहक थप गरेको हो ।
साउन २०७७ मा इन्टरनेट सेवाको क्षेत्रमा हात हालेको डिशहोमले तीन वर्षमै इन्टरनेट बजारका स्थापित र दिग्गज खेलाडीलाई माथ दिएको छ । यो छोटो अवधिमा नेपालको इन्टरनेट सेवाको क्षेत्रमा अब वर्ल्डलिङ्क मात्रै ऊ भन्दा अगाडि छ । जसका आठ लाख ११ हजार ९९७ ग्राहक रहेको प्राधिकरणको तथ्याङ्कले देखाउँछ ।