काठमाडौ। तलकोट गाउँपालिकाको आधा भू–भागलाई जोड्ने सेती नदीस्थित रातापानीमा निर्माण गरिएको काठेपुल बाढीले बगाएपछि पुनः निर्माण गरिने भएको छ। दसैंअघि ११ लाख लागतमा बनेको मोटरेबल काठेपुल कात्तिकमा बेमौसमी वर्षासँगै आएको बाढीले बगाएको हो। पुल बगेपछि त्यहाँका स्थानीयहरुलाइ खोला वारपार गर्न निकै समस्या हुँदै आएकाले सो पुल पुनः निर्माण गर्न लागिएको हो ।
पुल निर्माणका लागि सल्लाको रुख काट्न वन समितिसँग कुरा भइसकेको गाउँपालिका अध्यक्षले जानकारी दिएका छन्। मेसिन र इन्धन पुगेपछि पुल निर्माण कार्य सुरुवात गर्ने उनले जनाएका छन्। ११ लाख खर्च गरेर निर्माण गरेको पुलले त्यहाँको स्थानीयलाई सहज हुने अपेक्षा राखिएको थियो तर पुल निर्माण भएको एक हप्ता नबित्दै नै सेती नदीको बाढीले पुल बगाएपछि त्यहाँका स्थानीय निराश भएका छन्। पुल बगाएपछि ११ लाख रुपैयाँ बालुवामा पानी हालेझैं भएको त्यहाँको स्थानीयको भनाइ छ।
पक्की पुल निर्माणमा ठेकेदारले लापरबाही गरेका कारण काठेपुल निर्माण गरेर गाडी गुडाउनु आफूहरूको बाध्यता रहेको गाउँपालिकाको अध्यक्षले जनाएका छन्। हाल सेती नदीमा पुल नहुँदा तलकोटको आधा भू–भाग र साइपालबासी सडक सुविधाबाट बञ्चित भएका छन्।