काठमाडौं। मेलम्ची खानेपानी विकास समिति पानीपोखरीले अबको २८ दिनभित्रमा काठमाडौंमा मेलम्चीको पानी ल्याउने तयारी भइरहेको जनाएको छ। आयोजना र ठेकेदार कम्पनीबीच सहमति भएकाले २८ दिनभित्र पानी पथान्तरण गरिसक्ने गरी तयारी थालिएको समितिले जनाएको छ।
आकस्मिक परिस्थिति पर्न नआएको अवस्थामा निर्धारित समयभित्र काठमाडौंका घरघरमा मेलम्चीको पानी पुग्ने बताइएको छ। समितिले एक विज्ञप्ति प्रकाशित गरी खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यको अध्यक्षतामा बसेको बोर्ड बैठकबाट निर्माण व्यवसायीसँग समझदारीपत्रमा हस्ताक्षर गरी तत्काल निर्माण क्षेत्रमा परिचालनका लागि आवश्यक सहजीकरण र समन्वय गर्ने निर्णय भएको उल्लेख गरेको छ।
अब मेलम्ची नदीको पानी दैनिक १७ करोड लिटरका दरले उपलब्ध गराइने समितिको दाबी छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेडबाट सुन्दरीजल पानी प्रशोधन केन्द्रमा प्रशोधन गरी उपत्यकामा वितरणका लागि पुनः उपलब्ध हुने उक्त विज्ञप्तिमार्फत जनाइएको छ ।