कञ्चनपुर। लालझाडी गाउँपालिका–३ नन्दगाउँ–बल्मी जोड्ने दोदा नदीमा पक्की पुल निर्माण भएको छ। उक्त खोलामा पुल निर्माण भएपछि स्थानीय बासिन्दालाई आतजावतका लागि सहज भएको छ। सो स्थानमा ६ करोडभन्दा बढीको लगानीमा ८ सय मिटर लामो पक्की पुल निर्माण गरिएको छ। पुल निर्माणसँगै गाउँपालिका जान आउनका लागि सर्वसाधारणले सास्ती खेप्नुपर्ने बाध्यताको अन्त्य भएको छ।
पुल नहुँदा विगतमा गाउँमा कोही बिरामी पर्दा जोखिम मोलेरै नदी तरेर स्वास्थ्यचौकी लैजानुपर्ने बाध्यता रहेको तर पुल निर्माण पश्चात सहज रुपमा नै सवारी साधन चढेर अन्य क्षेत्रमा जान सहज भएको गाउँपालिकाका अध्यक्षले जानकारी दिएका छन्। खोलामा बाढी आएको समयमा बिरामीलाई घरमा नै राख्नुपर्दा अकालमा नै ज्यान जाने गरेको दर्दनाक अवस्थालाई अन्त्य गर्ने उद्देश्यका साथ पुल निर्माण गरिएको उनले जनाएका छन्। यसैगरी गर्भवती महिलालाई अस्पताल पुर्याउन नसक्दा घरमै जोखिम मोलेर पनि सुत्केरी गराउने गरेका थिए अहिले पुल निर्माणसँगै ती सबै समस्या समाधान भएका छन्।
पुल निर्माण नहुँदा गाउँपालिका पुग्न चारपाङ्ग्रे सवारी साधनमा कैलाली हुँदै डोकेबजार भएर लामोयात्रा गर्नुपर्ने त्यहाँका बासिन्दाको बाध्यता थियो तर हाल नन्दगाउँ हुँदै सिधैँ बेलौरी कलुवापुर सडकसम्म पुग्न सकिने भएको गाउँपालिकाका अध्यक्षले जानकारी दिएका छन्। गाउँपालिकाको आन्तरिक स्रोत, प्रदेश सरकार र सङ्घीय सरकारको बजेट परिचालन गरी निर्माण सुरु भएको चार वर्षमा पुल निर्माण भएसँगै विकटको क्षेत्रलाई सडक सञ्जालसँग जोड्न सकिएको उनको भनाइ छ।
जिल्लाकै विकट क्षेत्रका रुपमा रहेको लालझाडी गाउँपालिकालाई चारैतिरबाट दोदा नदीले घेरिएकाले एक गाउँबाट अर्को गाउँ जानका लागि नदी तर्नुपर्ने अवस्था रहेको हुनाले सो क्षेत्रमा पुल निर्माण गरिएको हो। सो गाउँपालिका जोडनका लागि दोदा नदीमा एक साथ तीन पक्की पुल निर्माण थालिए पनि हाल एक वटा मात्रै पुल निर्माण भएको हो। अन्य दुई पुल निर्माणाधीन अवस्थामा रहेका छन्।