झापा। वातावरण संरक्षण केन्द्र (इपिसी) नेपालले दाउरा बालिरहेका झापाका १७ हजार परिवारलाई सुधारिएको फलामे चुलो र चार सय ५० विद्युतीय (इन्डक्सन) चुलो वितरण गरेको छ । विपन्न तथा श्रमिक परिवारलाई दाउराको विकल्पका रुपमा प्रयोग गर्न सहज होस् तथा पर्यावरण जोगाउन सहयोग पुगोस् भन्ने उद्देश्यले चुलो वितरण गरिएको हो ।
मेचीनगर, हल्दीबारी, बुद्धशान्तिलगायतका छ पालिकामा सुधारिएको फलामे चुलो वितरण गरेको बताइएको छ। खुला बजारमा ५ हजार रुपैयाँ मूल्य पर्ने सुधारिएको फलामे चुलो विपन्न तथा श्रमिक परिवारलाई ढुवानी खर्चबापतको २ सय रुपैयाँ मात्र लिएर वितरण गरिरहेको छ।
विद्युत् र दाउरा दुवै प्रयोग हुने सुधारिएको चुलो सिङ्गापुरको ‘भिएनभी एडभाइजरी’ नामक दातृसंस्थाको सहयोगमा वितरण गरिएको हो । हाल झापा, उदयपुर, धनुषा, सिरहा, सप्तरीलगायतका जिल्लामा यो परियोजना सञ्चालन भइरहेको छ ।