खोटाङ। रसुवाघाट–पान्धारे सडक आयोजना सडक अलपत्र परेको छ । कोशी प्रदेश सरकारले बहुवर्षे आयोजना कटौती गर्दा १५ किलोमिटर सडक अलपत्र भएको हो । खोटाङको खोटेहाङ गाउँपालिका रसुवाघाटबाट भोजपुरको पान्धारेसम्मको १५ किलोमिटर कालोपत्रे हुने सडक कोशी प्रदेश सरकारको निर्णयले कटौति भएको थियो ।
गत आर्थिक वर्ष कोशी प्रदेश अर्थ मन्त्रालयबाट बहुवर्षे योजना अन्तर्गत चार करोड बजेट बिनियोजन भएको थियो । प्रदेश सरकार हेरफेरको कारणले प्रदेशमा रहेको बहुवर्षे आयोजना प्रदेश सरकारले रद्द गर्ने निर्णय गरेको थियो । गत आर्थिक वर्ष भौतीक पूर्वाधार कार्यालय गाईघाटबाट खरिद प्रक्रिया योजना कार्यान्वयन गर्नु भनी मन्त्रालयले कार्यालयबाट सूचना आएर रोकिएको थियो ।
गत आर्थिक वर्ष कोशी सरकारले बहुवर्षे आयोजना रद्द गर्ने निर्णयका कारण हाल यो सडक अलपत्र भएको हो । सडक कालोपत्रे बन्ने स्थानीयबासीको आशा निरासामा परिणत भएको छ । अहिलेको नयाँ सरकारले प्रदेश मन्त्रालयबाट २०८०–८१ मा दुई करोड बजेट बिनियोजन गरेको छ । पहिले बहुवर्षे योजना कोशी प्रदेशले बन्द गर्ने निर्णय अदालतमा मुद्दा परेको कारणले अदालतले कार्यान्वयन गर्न आदेश गरिसकेको छ ।
पूर्ण फैसला भने आउन बाँकी रहेको छ । पूर्ण फैसला नभएपछि हाल छुटिएको दुई करोड बजेटको ठेक्का आह्वान गर्न मिल्दैन । २०६८ सालमा सुरुवात भएको रसुवाघाट–पान्धारे सडक अहिले डिपिआर भएर अलपत्र छोडिएको छ । एम्बुलेन्ससम्म जान सक्ने अवस्था नहुँदा स्थानीयले सास्ती बेहोर्नुपरेको छ । यो सडक निर्माण हुँदा खोटाङका दक्षिणी भेगका नागरिकलाई ईटहरी, धरान, विराटनगर आवतजावत सहज हुने देखिन्छ । कारोबार दैनिकबाट