काठमाडौं। पर्यटकीय दृष्टिले महत्त्वपूर्ण स्थानका रूपमा लिइएको भरतपुरमा अब दुई स्थानबाट प्याराग्लाइडिङ गर्न सकिने भएको छ।
गत वैशाखमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले औपचारिक उद्घाटन गरेको भरतपुरको हिमालयन फन्टियर्स प्याराग्लाइडिङको व्यावसायिक उडान बर्खा लागेसँगै स्थगन गरिएको थियो।
कम्पनीका सञ्चालक शैलेन्द्र रावतका अनुसार वर्षाका कारण बाटो बिग्रेको हुनाले सञ्चालनमा आउन नसकेको प्याराग्लाइडिङ पुस अन्तिम सातादेखि भरतपुरका दुई स्थानबाट सञ्चालनमा ल्याउने तयारी गरिएको हो।
भरतपुर महानगरपालिका– २९, चौकीडाँडा र कविलासडाँडाबाट साहसिक खेलका रूपमा चिनिने प्याराग्लाइडिङको उडान सुरु गर्न लागिएको सञ्चालकले बताए । सुरुमा चौकीडाँडाबाट मात्रै उडान गरिएकामा अबदेखि दुई ठाउँबाट उडान गर्न लागिएको हो।