काठमाडौं। काभ्रे जिल्लाको विकट महाभारत गाउँपालिका जोड्ने पिन्थली- रजबास- चारकिल्ला- तीनखुट्टे- देविटार- घर्तीछाप- गोकुले सडक ६ महिनादेखि अवरुद्ध हुँदा स्थानीयलाई सास्ती भएको छ- वर्षयाम सुरु भएसँगै खसेका पहिरो पन्छाउन श्रेष्ठ सक्षम जेभिले ढिला गरेपछि जेठदेखि सडक सञ्चालनमा आउन सकेका छैनन्।
निर्माण व्यवसायीले समयमै काम सम्पन्न नगर्दा स्थानीयले सास्ती भोग्नुपरेको गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले बताए। उक्त सडक अवरुद्ध भएपछि स्थानीय मङ्गलटार, जुगेपानीबाट सिन्धुलीको रामपुर हुँदै बनखु- घर्तीछाप- गोकुले सडक र चौकीडाँडा- सिसाखानी- सिपाली- बुढाखानी हुँदै फोक्सिङटार- घर्तीछाप- गोकुले सडक प्रयोग गर्न बाध्य भएका छन्।
२०६९ असारसम्म महाभारत गाउँपालिकाको केन्द्र जोड्ने तीनखुट्टे। देविटार सडक खण्ड कालोपत्र गर्ने जिम्मा पाएको श्रेष्ठ सक्षम जेभीले अझै काम सुरु गरेको छैन। २०७७ असार ३० गते ८/७ किलोमिटर लामो तीनखुट्टे। देविटार सडक स्तरोन्नति गरी कालोपत्र गर्न उक्त निर्माण व्यवसायीसँग सम्झौँता भएतापनि अहिले मुख्य काम नै सुरु नभएको हो।
प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले २५ करोड ८२ लाख दस हजार रुपियाँको लागतमा निर्माण गर्ने गरी सम्झौँता गरेको थीयो। उक्त सडकमा नाली, रिटेनिङ वाल, ग्याबिन वाल, कजवे, कल्भर्टलगायत बनाई प्रिमिक्स विधिबाट कालोपत्रे गरिने जानकारी दिए।
२०७७ असोज २० गते शिलान्यास गरिएको सडक अब छिट्टै निर्माण सम्पन्न गर्ने गाउँपालिकाका अध्यक्ष जिम्बाले जानकारी दिए। उनका अनुसार वर्षका कारण अवरुद्ध भएको सडक पहिरो पन्छाउने काम सुरु भएको छ भने निर्माण सामाग्री तयार गर्न क्रसर जडान गरिएको छ।