रुपन्देही। नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले बृहत् लुम्बिनी गुरुयोजनाको कार्यान्वयनले देशको समृद्धि र अर्थतन्त्रमा योगदान दिनसक्ने बताउँदै यसका बाँकी काम तीव्ररूपमा अघि बढाउन नेपाल सरकार र सरोकार रहेका व्यक्तिहरूको ध्यानाकर्षण गराएका छन्।
लुम्बिनी बौद्ध विश्वविद्यालयको १७ औँ स्थापना दिवसका क्रममा सो क्षेत्रमा पुगेका उनले धार्मिक र पर्यटकीय हिसाबले विश्वकै आकर्षक गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनीको थप विकासका लागि बृहत गुरुयोजनाको कार्यान्वयन आवश्यक रहेको सुझावसमेत दिएका छन्। संसारमा मानिसले ठूला चमत्कार गर्न सकेपनि बुद्धको जन्मभूमि कसैले सिर्जना गर्न नसक्ने बताउँदै धार्मिक र पर्यटकीय हिसाबले लुम्बिनी विश्वकै आकर्षक गन्तव्यमात्र नभएर विश्वको झण्डै एकतिहाइ जनसङ्ख्याकै आस्थाको केन्द्र भएकाले यसको विकासमा राज्यको ध्यान पुग्नु नितान्त आवश्यक रहेको उनले जानकारी दिएका छन्।
केन्जो टांगेले ४० वर्षअघि बनाएको लुम्बिनी गुरुयोजना हालसम्म पनि पूरा नहुनु बिडम्बना भएकाले गर्दा यसलाई शीघ्र कार्यान्वयन गर्न आवश्यक रहेकामा उनले जोड दिएका छन्। यसैगरी उनले गुरुयोजनाको कार्यान्वयनले मात्रै लुम्बिनी आकर्षक पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुने बताएका छन्। लुम्बिनी गुरुयोजनाका बाँकी काम ३ वर्षभित्र सम्पन्न गर्नका लागि आफू अर्थमन्त्री भएका बेला रु ७ अर्ब ३३ करोड बजेट विनियोजन गरी बहुवर्षीय स्रोत सुनिश्चितता गरेको बताउँदै यसको सही सदुपयोग गर्न र आयोजनाको पूर्णतामा ढिला नगर्न पनि उनले सरकारसँग आग्रह गरेका छन्।
यसैगरी पूर्वमन्त्री पौडेलले गौतमबुद्धले २९ वर्ष बिताएको तिलौराकोट, बुद्धका अस्तु धातु राखिएको ठाउँ रामग्रामलगायतका बुद्धसँग जोडिएका स्थलहरूलाई समेटेर बृहत् लुम्बिनी गुरुयोजना निर्माण गरी प्रभावकारी कार्यान्वयन गर्न आवश्यक रहेको बताएका छन्। लुम्बिनी बौद्ध विश्वविद्यालयलाई बहुविषयक विश्वविद्यालयमा स्तरोन्नति गर्न केन्द्रीय क्याम्पसको संरचना विकास र विस्तारका लागि गौतमबुद्धको मावलीस्थल देवदहमा ९२ बिघा जग्गा अधिग्रहण गर्ने निर्णय अघिल्लो सरकारले गरिसकेको हुनाले गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने विश्वविद्यालयका रूपमा उक्त विश्वविद्यालाई स्थापित गर्नुपर्ने उनको सुझाव रहेको थियो।
त्यसैगरी पूर्वअर्थमन्त्री पौडेलले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई सुरुका दिनमा क्षेत्रीयस्तरको विमानस्थलका रूपमा डिजाइन गरिए पनि आवश्यकताका आधारमा पूर्ण क्षमतामा सञ्चालनका लागि थप जग्गा अधिग्रहण गरिएको जानकारी दिँदै विमानस्थलको दोस्रो चरणको डिपिआरको काम अघि बढाउनसमेत आग्रह गरेका छन्। उनले विमानस्थलको उद्धघाटन हुँदा दोस्रो चरणको कामको शिलान्यास गर्न सक्ने गरी काम अघि बढाउनुपर्नेमा पनि जोड दिएका हुन्।