काठमाडौं। नेपालगञ्ज उपमहानगरपालिकाले अटो रिक्सामाथि डोजर चलाएर नष्ट गरेकोप्रति नेपाली कांग्रेस निकट नेपाल अटो रिक्सा, ईरिक्सा तथा ठेला श्रमिक संघले आपत्ति जनाएको छ।
यस क्षेत्रमा काम गर्ने मजदूरहरूको गाँस खोस्नेगरी रिक्सा नष्ट गरिएको भन्दै त्यस्ता गतिविधि तत्काल रोक्न संघले बिहीवार विज्ञप्तिमार्फत रिक्सा नष्ट नगर्न चेतावनी दिएको हो।
संघले देशभर प्रहरी र ट्राफिक प्रहरीबाट रिक्सा समातेर कब्जा गर्ने रणनीति तत्काल बन्द हुनुपर्ने बताएको छ। ‘हजारौं मजदूर र उनीहरूका परिवारका सदस्यहरू यसमै आश्रित छन् । नेपालगञ्जसहित देशका विभिन्न जिल्लामा भइरहेको धरपकडप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । अटो रिक्सा व्यवस्थित गर्न हामी तयार छौं, तर बल प्रयोग रोकिनुपर्छ,’ विज्ञप्तिमा भनिएको छ।
बल प्रयोग नरोकिए आफूहरू चरणबद्ध रूपमा आन्दोलनमा जाने समेत संघले चेतावनी दिएको छ ।