एजेन्सी। कोलम्बियाको उत्तरपश्चिमी क्षेत्रमा गएको पहिरोमा परेर कम्तीमा १८ जनाको मृत्यु भएको छ। पहिरोमा परी अन्य ३० जना घाइते भएका छन्।
मेडेलिन र क्विब्दो सहरलाई जोड्ने सडकमा पहिरोले क्षति पुर्याएपछि यहाँको यातायात सेवा समेत अबद्ध बनेको बताइएको छ।
सामाजिक सञ्जाल र टेलिभिजन च्यानलमा सार्वजनिक भएका तस्बिरमा हिलो र पहिरोका कारण कारहरू ध्वस्त भएको देखिएको छ । प्रशान्त महासागरसँग सीमा जोडिएको र विशाल उष्णकटिबन्धीय वन रहेको चोको क्षेत्रमा विगत २४ घण्टामा भारी वर्षा भएको छ ।
कोलम्बिया खडेरीको अवस्थाबाट गुज्रिरहेको बेला जल, मौसम तथा वातावरण अध्ययन इन्स्टिच्युटले यसअघि प्रशान्त र अमेजनको सिमानामा रहेका विभिन्न क्षेत्रमा भारी वर्षाको जोखिमबारे चेतावनी दिएको थियो ।