काठमाडौं। खानेपानीमन्त्री महिन्द्रराय यादवले आगामी माघ १ गतेदेखि काठमाडौँमा मेलम्चीको पानी वितरण गरिने बताएका छन्।
सुन्दरीजलस्थित मेलम्चीको पानी प्रशोधन केन्द्रको आज अनुगमन तथा निरीक्षण गर्दै मन्त्री यादवले भने, “मेलम्चीको पानी सुन्दरीजलमा आइपुगेको छ, माघ १ गते बिहान ९ बजेदेखि काठमाडौँमा वितरण सुरु हुन्छ।”
उनले लक्ष्यभन्दा पहिले नै सुन्दरीजलमा पानी आइपुगेको भन्दै अब बाह्रै महिना काठमाडौँमा मेलम्चीको पानी वितरण हुने दाबी गरे। काठमाडौँका विभिन्न ठाउँमा पानी विरतण हुने पाइप बिग्रिएकाले मर्मत गर्न र खानेपानी मिटर जडान गर्न निर्देशन दिए।
मेलम्चीको पानी माघ १ गतेदेखि अनामनगर, मीनभवन, महाँकालचौर, रिगनी, भक्तपुर, खुमलटार, बालाजु र बाँसबारी क्षेत्रमा क्रमिकरूपमा वितरण गरिने खानेपानी मन्त्रालयले जनाएको छ।