चितवन। भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरको वडा नम्बर ८, ७, ४ र १६ बाट जाने भनिएको पूर्व–पश्चिम रेलमार्गको प्रस्तावित मार्गको विकल्पमा जानुपर्ने बताएकी छन्।
भरतपुर महानगरपालिकामा शनिबार नेपाल सरकारका भौतिक योजना तथा यातायातमन्त्री प्रकाश ज्वालसहित सरोकारवालासँगको छलफलमा प्रमुख दाहालले वडा नम्बर ११ र १२ बाट नवलपुर वा राप्ती करिडोर हुँदै गोलाघाटबाट नवलपुर उपयुक्त विकल्प हुन सक्ने उल्लेख गरेकी हुन्।
मन्त्री ज्वालालाई प्रमुख दाहालले रेलमार्गको कार्य स्थानीयसँगको सहयोग र सहकार्यबाट टुङ्गोमा पुराउनुपर्ने धारणा राखीन्। ‘रेल मार्गका लागि विकल्पहिन कुरा गर्न मिल्दैन, उनले भनीन,‘अहिलेको मार्गबाट धेरै क्षति पुग्छ भने हामीले नै अर्को विकल्प दिन सक्नुपर्छ । हामी रेलवे लाईन पनि चाहियो, भरतपुरमा रेलवे लाईन नहुँदा भरतपुर विकासबाट पछि पर्ने छ ।’
प्रमुख दाहालले अहिलेको विषयलाई पुनअवलोकन हुनुप¥यो भनि छिटोभन्दा छिटो स्थानीयको माग सम्बोधन गराउने उद्देश्यले सरोकारवालाबीच छलफल कार्यक्रम राखिएको प्रष्ट पारीन् । केही दिनअघि प्रस्तावित मार्गमा रेल विभागको सर्भे गर्ने काम सुरु भएसँगै स्थानीयहरु आन्दोलित भई महानगरपालिकालाई ज्ञापनपत्र बुझाएका थिए ।