काठमाडौं। नासा हाइड्रो पावर कम्पनीको सडक बनाउन गएका दोलखा जिल्लाको विगु गाउँपालिकाका १८ वर्षीय कुसुम तामाङको ज्यान गएको छ । दोलखाको उत्तरी लामाबगरबाट लप्ची जाने सडक निर्माणको क्रममा खसेको सुख्खा पहिरोमा पुरिएर तामाङको मृत्यु भएको हो ।
यसैगरी, पहिरोले पुरिएर २ जना घाइते भएका छन् । पहिरोमा पुरिएर घाइते हुनेमा सोही स्थानका २२ वर्षीय रसमान तामाङ र २८ वर्षीय दिलकुमार तामाङ रहेको प्रहरीले जनाएको छ। उनीहरू तीनै जना नासा हाइड्रो पावरको सडक निर्माणका काम गर्ने मजदुर हुन् ।
लामावगरवाट लप्ची जाने सडक निर्माणको क्रममा देउराली र हुर्हुरे भन्ने स्थानमा शनिबार दिउँसो करिव ३ बजे माथिवाट खसेको सुख्खा पहिरोले उनीहरूलाई पुरेको थियो।