काभ्रेपलाञ्चोक। काभ्रेपलाञ्चोकको धुलिखेल र पनौती नगरका ६ सय परिवारमा खानेपानीको पहुँच पुगेको छ । धुलिखेल–१० सुन्थानका ३ सय र पनौती–४ को चारमखर्कस्थित ज्यालाचिटी क्षेत्रका ३ सय परिवारका लागि खानेपानी वितरण गरिएको हो ।
बागमती प्रदेश खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयमार्फत विनियोजित १५ लाख रुपैयाँबाट ज्यालाचिटी खानेपानी उपभोक्ता समितिले निर्माण गरेको ९२ हजार लिटर क्षमताको ट्याङ्कीबाट पानी वितरण गरिएको छ । ‘एक घर एक धारा’ कार्यक्रमअन्तर्गत आयोजना सम्पन्न गर्न दुई सय १५ घरधुरीबाट रू पाँच हजारका दरले रकम सङ्कलन गरिएको समितिले जनाएको छ।
समितिमार्फत प्रत्येक घरधुरीमा खानेपानी वितरण गर्न नगर कार्यालयले १२ रोल पाइप, ४ नं वडा कार्यालयले नौ रोल पाइप सहयोग गरेको थियो ।