तनहुँ। भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराइने भएको छ। विसं २०७८ फागुन १६ गते गठन भएको राष्ट्रिय भूमि आयोग तनहुँले पहिलो पटक भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने निर्णय गरेको हो ।
आँबुखैरेनी गाउँपालिका–२ का १३ जनालाई जग्गा वितरण गर्न लागिएको छ।
निजहरुलाई माघ २ गतेदेखि १५ दिनभित्र जग्गा दर्ताका लागि आयोगको कार्यालयमा परिवारमूली र निजको पति वा पत्नी उपस्थित हुन सूचना समेत जारी गरिएको छ।
चाँडै नै देवघाट गाउँपालिका–५ र शुक्लागण्डकी नगरपालिका–२ मा पनि भूमिहीन सुकुम्बासीलाई जग्गा वितरणको तयारी गरिएको समेत आयोगले जनाएको छ।
आयोगका अनुसार हालसम्म शुक्लागण्डकी नगरपालिका, बन्दीपुर गाउँपालिका, आँबुखैरेनी गाउँपालिका, देवघाट गाउँपालिका–५, व्यास नगरपालिकाका केही वडामा भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीको निवेदनको निस्सा वितरण गरिएको छ ।