काठमाडौं। भरतपुरमा अटोल्याण्ड (अटोभिलेज) बनाउने चर्चा चलेको बर्षौँ भएको भएपनि काम भने सुरुआत हुनसकेको छैन। पछिल्लो समय अटोल्याण्ड नहुँदा नारायणगढ बजार अव्यवस्थित बनेको छ। बजारको सौन्दर्यमा ह्रास आउनुका साथै कुरुप पनि बनेको छ।
नारायणगढका व्यवसायीहरूले अटोल्याण्ड निर्माण गर्न भरतपुर महानगरसँग पटक–पटक माग गर्दै आइरहेका छन्। अटोल्याण्ड निर्माण भए बजारमा अव्यवस्थितरूपमा छरिएर रहेका वर्कशप र ग्यारेज एकत्रित हुनुका साथै बजारको सौन्दर्यकरण पनि बढ्ने अटो व्यवसायीहरुको भनाइ रहेको छ। भरतपुर महानगरले वडा नं ३ को नारायणी नदी किनार (नगरवन क्षेत्र)मा अटोल्याण्ड निर्माण गर्ने योजना अघि सारेको छ।
यसैगरी महानगरपालिकाका प्रवक्ता एवं अटोल्याण्ड व्यवस्थापन समितिका सदस्य अरुणपीडित भण्डारीले नदी किनार क्षेत्रमा ३५ बिघा जग्गामा अटोल्याण्ड बनाउने गरी विस्तृत प्राविधिक प्रतिवेदन (डिपिआर) तयार भइसकेको जानकारी दिएका छन्। सो अटोल्याण्ड बनाउन इआइएको प्रक्रिया अगाडि बढाइएको जनाइएको छ। यसैगरी करिब रु दुई अर्ब ८० करोडको लागत अनुमान गरिएको सो आयोजनाभित्र नारायणी तटबन्धन पनि निर्माण हुने जनाइएको छ।
सो अटोल्याण्ड बनेपछि अटोमोबाइलसम्बन्धी सम्पूर्ण सेवा एकै ठाउँबाट उपलब्ध हुने छ भने यातायातका सम्पूर्ण सवारीसाधन मर्मत गर्ने वर्कशप एकै ठाउँमा रहेर सेवा प्रदान गर्नेछ। सहरको वातावरण सफा राख्न र जथाभावी खुलेका वर्कशप तथा ग्यारेजलाई एकत्रित गर्न अटोल्याण्डले सहज हुने भएको छ। यसैगरी नेपाल अटो मेकानिकल्स व्यवसायी महासङ्घका वरिष्ठ उपाध्यक्ष गोपाल भट्टराईले भरतपुरमा अटोल्याण्डको आवश्यकता महसुस गरेर आफूहरुले विसं २०६४ देखि नै यसको माग गर्दै आएको जानकारी दिएका छन्।
बुटवल, दाङको तुलसीपुर र घोराहीमा अटोभिलेज बनिसकेको र अटोभिलेज भएपछि त्यहाँका व्यवसायी र ग्राहकले सुविधा पाएको पनि उनले जानकारी दिएका छन्। अव्यवस्थितरूपमा बजारको बीचमा रहेका वर्कशपबाट उत्पादन हुने फोहर र ध्वनि प्रदूषणले बजारलाई कुरुप बनाइरहेकाले त्यो एकै ठाउँमा व्यवस्थित भएपछि यो समस्या हट्ने छ। अटोल्याण्ड बनेपछि सो महानगरलाई पनि फाइदा हुने भएको छ।