फाइल तस्बिर
एजेन्सी। दक्षिण सुडानको अबेई क्षेत्रमा हतियारधारी समूहले आक्रमण गरेको छ। आक्रमणमा परी संयुक्त राष्ट्रसंघको शान्ति मिसनको एक सदस्यसहित ५२ जना सर्वसाधारणको मृत्यु भएको छ । अन्य ६४ जना घाइते भएका छन् ।
बन्दुकधारीको समूहले २७ जनवरी शनिबारको दिन श्रृङ्खलाबद्ध आक्रमण गरेको थियो । न्यिनकुआक, मजबोङ र खादियन क्षेत्रमा साम्प्रदायिक हिंसा भएको थियो । हतियारधारी समूहले अगोकमा रहेको संयुक्त राष्ट्र संघको अन्तरिम सुरक्षा बलको क्याम्पमा समेत आक्रमण गरेको थियो । ती आक्रमणमा परी ५२ जनाको मृत्यु भएको समाचार एजेन्सी एपीले जनाएको छ ।
अबेईका लागि संयुक्त राष्ट्र संघको अन्तरिम सुरक्षा बलले पनि बन्दुकधारीको आक्रमणबाट शान्ति मिसनमा खटिएका घानाका एक जना सदस्यको मृत्यु भएको पुष्टि गरेको छ ।
तेल भण्डार भएको अबेईलाई सुडान र दक्षिण सुडान दुवैले दाबी गर्दै आएका छन् । तर यो क्षेत्र हाल दक्षिण सुडानको नियन्त्रणमा छ । स्थानीय अधिकारीका अनुसार शनिबार साँझ ४ः४५ बजेतिर बन्दुकधारी समूहले आक्रमण गरेको थियो । आक्रमणको कारण खुलेको छैन ।