बागलुङ। स्थानीयले जग्गा दिएको २२ वर्षपछि यहाँको बसपार्कमा बस लगेर फोटो खिचाइएको छ । तर बसपार्क पूर्णरुपमा संचालनमा आएको भने होइन । बसपार्क बनाउने बेला ल्याण्ड पुलिङ गर्दा बसपार्क संचालन भएपछि जग्गा फिर्ता गर्ने सम्झौता गरेको बागलुङ नगरपालिकाले अहिले सम्झौताबमोजिम दाताको जग्गासमेत फिर्ता दिएको छैन ।
बसपार्क बन्ने आशमा २२ वर्षअघि स्थानीयले निस्शुल्क जग्गा दिएका थिए । स्थानीयले दिएको जग्गामा प्लाटिङ गरेर बसपार्क बनाउने र कित्ताकाट गरेर कम्तिमा एक एक वटा घडेरी दिने योजना थियो । बसपार्क त तयार भयो । तर योजनाअनुरुप स्थानीयले पाउनुपर्ने जग्गाबारेको अन्योल हटेको छैन ।
संचालन नहुँदा जग्गावालाहरुले त्यहाँ रहेको आफ्नो जग्गा किनबेच गर्न समेत पाएका छैनन् । शनिबार लामो बसको परीक्षण भन्दै एउटा बस लगेर राखेपछि जनप्रतिनिधि र स्थानीयले तस्बिर खिचाए । निर्माणाधीन भएकाले केही समयमै बसपार्क संचालन गर्ने बागलुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कँडेलले बताए ।
बागलुङ नगरपालिका वडा नं ३ का सुवास राजभण्डारीले आफ्नो १२ रोपनी जग्गा नगरपालिकाको नाउँमा दिएका थिए । बसपार्क बनेपछि नगरपालिकाले ६ रोपनी जग्गा फिर्ता गर्ने शर्त छ । तर नगरपालिकाले यो जग्गा फिर्ता गरेको छैन । २०७४ मा ठेक्का लगाएर २०७७ मा बसपार्क बनेको थियो । बसपार्क नचलेको मात्र हैन, राजभण्डारीले पाउनु पर्ने ६ रोपनी जग्गा पनि फिर्ता पाएका छैनन् ।
२२ वर्षदेखि उनले आफ्नो जग्गा किनबेच गर्न नपाएको बताए । अझैपनि कहिले फिर्ता पाउने हो भन्ने यकिन नभएको उनको चिन्ता छ । कान्तिपुरबाट