लमजुङ। लमजुङको दोर्दी गाउँपालिकाको वडा नं ५ बारीगाँउमा ७४ वटा धारा निर्माण गरिएको छ। ७१ घरमा ‘एक घर एक धारा’ तथा सार्वजनिक संस्थामा ३ गरि ७४ धारा निर्माण गरिएको हो।
गोर्खा वेल्फेयर ट्रष्ट नेपाल, दोर्दी गाउँपालिका तथा खानेपानी तथा सरसफाई ब्यबस्थापन समिति बारीगाँउको आर्थिक सहयोगमा धारा निर्माण गरिएको छ। गाउँपालिकाले उपभोक्ता समितिलाई बिहिबार धारा हस्तान्तरण गरेको छ । खानेपानी धारा निर्माणबाट बारीगाँउको ३४६ जना लाभान्वित हुने गाउँपालिकाले जनाएको छ ।
गोर्खा वेल्फेयर ट्रष्ट नेपालको ३४ लाख ९६ हजार १८६ रुपैयाँ, दोर्दी गाउँपालिकाको तर्फबाट ४ लाख ७७ हजार ७९४ रुपैयाँ तथा स्थानीय उपभोक्ता समितिको तर्फबाट ४ लाख ४२ हजार ३५५ रुपैयाँ लागतमा उक्त आयोजना सम्पन्न भएको हो।
गोर्खा वेल्फेयर ट्रष्ट नेपालकै सहयोगमा वडा नं ६ को किर्तिपुर गाउँका घरघरमा धारा पुगेको र छिट्टै हस्तान्तरण हुने गाउँपालिकाका अध्यक्ष युवराज अधिकारीले जानकारी दिए ।